हिजोआज मलाई पनि लेखक बन्न रहर जागेको छ । रहरले हुदैन त्यो थाहा छ त्यै पनि मनको रहर के ले नै पो रोक्न सक्दोरहेछ ।बेलाबेला कानीकुथी लेखिरहेको हुन्छु । अरु लेखकहरुको लेख पढ्ने गर्छु । मलाई लाग्छ मनका भावलाई शब्दमा उतार्ने काम नै लेखन कार्य हो । मनमा अनेकौं भावहरु उथलपुथल छ्न तर शब्दमा ब्यक्त गर्नै सकिरहेको हुदिन । यस मानेमा लेखन कार्य मेरो लागी एकदमै गाह्रो काम हो । सुरुमा त कसरी लेख्न सुरु गर्ने?कुन बिषयमा लेख्ने?के के कुरा लेख्ने? जस्ता कुरा नै अटसपटस भएर आइदिन्छ मनमा। कसरी लेखक बन्न सकिन्छ भनेर विभिन्न लेखहरु पढिरहेको हुन्छु। कतिपय लेखकका लेख रचना यति मनछुने हुन्छ्न जसलाई पढिरहदाँ मलाई मेरो लेखन कमजोरीले छट्पटी हुन्छ । दुई चार लाईन लेखे पछि के लेखु के लेखु हुन्छ । गम्भिर बिषयबस्तु पनि मेरो लागी कमजोर साबित भइदिन्छ । नाम चलेका लेखकहरुले लेखेका लेखहरुको कतिपय लाइनहरु टिपोट गरेर राखेको हुन्छु । एकै बिषय भएपनि लेखकले आआफ्नै तरिकले प्रस्तुत गरेको हुदाँ लेखहरु फरक फरक पाउछु । अहिलेसम्ममा मैले धेरै किताब,विभिन्न बिषयमा लेखिएका पुस्तकहरु पढिसके तर पनि मेरो लेखनमा भने सुधार आउन सकेको छैन । घरी शब्द भेट्दिन त घरी बिषयबस्तु । घरी एउटा सिङ्गै बिषयबस्तु भेट्छु तर लेख्न बस्दा हात सर्दै सर्दैन । फेसबूकको वालमा हरेक दिन दुई चार लाइन लेखेर लेखक बन्न पनि आफैलाई सरम लाग्छ । जिवनमा घटित अनेकौं घटनाहरुलाई पूर्ण रुपमा लेख्न सके त्यो पनि राम्रै हुनेथियो तर सक्दिन । घरी मिति भुल्छु त घरी ती पलका स्मरणीय क्षणहरु । गुगलमा कसरी लेखन सुध्रन सकिन्छ भनेर खोज्दा अनेकौं उपाय भेटिन्छ्न तर जब लेख्न बस्यो ती उपायले काम नै गर्दैनन । कबिता,कथा,उपन्यास,निबन्ध,नाटक आदि पढ्ने गर्छु । ती पुस्तकहरु पढिरहदाँ मलाई पनि यसै गरि लेख्न सके भन्ने सोच आईरहन्छ । लेखिरहने लेखकहरुको लेखाई शैली नै अलग हुन्छ। कतै उखान जोडेको हुन्छ त कतै टुक्का । कतै इतिहास त कतै बर्तमानका कुराहरु। पढिरहु लाग्ने ती लेखहरु कसरी लेखे होलान? यस्ता प्रश्न पनि मनमा खेल्छ ।
अहिले धेरै लेखकहरु लेखनलाई पेशाकै रुपमा लेखिरहेको देख्न,सुन्न र पढ्न पाइन्छ । लेखन एक कला हो,जसको माध्यमबाट बिचारलाई सबै माझ पोख्न सकिन्छ। मान्छे बिचारले चल्ने गर्छ । सबैको बिचार अलग अलग खालको हुन्छ । ब्यक्तिहरु आफ्नो बिचार,सोच अनुकुलको लेख रचना पढ्न रुचाउँछन् । कतिपय बिचार पढिसकेपछी मान्छेमा एक किसिमको धारणा बन्छ । र ति लेख आफ्ना लागि मार्गदर्शक बन्न सक्छ । मेरो बिचारमा, ती लेखहरु जसलाई पढिरहदाँ र पढिसके पछि ब्यक्तिले महशुस गर्ने या ति बिचार प्रति सोच्न बाध्य बनाउछ भने त्यो नै लेखकको लेखन क्षमता/दक्षता हो । हरेकदिन पत्रपत्रिकामा विभिन्न बिषयमा भिन्न भिन्नखालका लेख रचना प्रकाशित भइरहेको हुन्छ । हामी देख्छौ पढ्छौ त कहिले शिर्षक हेरेर त्यतिकै छोडी दिन्छौ । तर हरेक लेखमा केहि न केहि बिचार ब्यक्त हुने गर्दछ । म प्राय: सबै खालका लेख पढ्न रुचाउछु। लेखन कार्यलाई मजबुत बनाउन पनि हरेक प्रकारका लेख रचना पढ्न जरुरी छ भन्ने सुनेको छु । यसलाई मैले सकारात्मक रुपमा लिएको छु। हरेक ब्यक्तिमा हरेक दिन विभिन्न बिचार आउने जाने क्रम चलिरहन्छ । बिचारलाई बाताबरण,समाज,घुममिल र रुचिले निर्धारण गर्ने गर्दछ । म चै के लेखक बन्न सक्दिन होला ! मसंग पनि त अनेकौं बिचार छन । मनमा भावनाले बास गरेको हुन्छ। मलाई पनि त लेख्न आउँछ । बान्की नमिल्ला तर लेख्न त सक्छु नि ! मनलाई यसै गरि सम्हाल्छु । अनि भोली त लेखन कार्य सुरु गर्छु सोच्छु अनि त्यो भोलीलाई पर्खिन्छु । आशा छ त्यो भोली आउने छ र म पनि कुनै लेखकले झै राम्रा राम्रा लेख लेख्नेछु ।