यहि मनले त मलाई सुखी बनाउछ,खुशी बनाउछ अनि यहि मनले मलाई दुखी बनाउछ । यहि मनले त कतिलाई माया गर्छु त कतिलाई घृणा गर्छु। यहि मनले को आफ्नो को पराई छुट्टाई रहेको हुन्छु। यहि मनले हो कहिले आफुलाई कम्जोर सम्झिन्छु त कहिले बलवान। यहि मनले हो मलाई कहिले उकालो चढाउछ त कहिले ओरालो झराउछ । यहि मनले मलाई यातउता डोर्याइरहेको हुन्छ । यहि मनको फैसलाले कति कुरा स्वीकारछु त कति कुरा नकार्छु । जे गर्छु यहि मनको आदेशमा गर्छु र जे गर्दैनौ त्यो पनि यहि मनले निर्धारण गर्ने गर्छ । म यहि मनको अधिनमा छु। त्यसैले आज मलाई यहि मनभित्र पस्न मन लाग्यो । मनको गहिराई नाप्न मन लाग्यो । मनको आकार, परिधी खोज्न मन लाग्यो । मनभित्र पस्न न कसैको अनुमति चाहिने न कसैसँग बिन्ती नै बिसाउनु पर्छ । कहाँबाट पस्ने ? कसरी पस्ने भन्ने पनि नहुदो रहेछ । केवल एकान्तमा बस्ने या एक्लै भएपछी आफ्से आफ मनभित्र पुगिने रहेछ । म अहिले एक्लै छु त्यसैले यो मनको कुना कुना चाहार्न खोज्दैछु ।
जब म मनभित्र पसे अनि पाए कि मनमा अनेकौं कुरा खेल्दारहेछ्न । राम्रा नराम्रा,काम लाग्ने काम नलाग्ने । यो मन त सिमलको भुवा जस्तै यताउता उडिरहने रहेछ । एकैछिन स्थिर नबस्ने,नरहने र बस्नै नसक्ने । क्षणभर मै कहाँ कहाँ पुग्ने । यो मनको पनि त गति,स्पिड होला ! तर अहिले सम्म यसलाई कसैले नापेको छैन होला । प्रकाश बर्ष भन्दा नि कयौं गुणा छिटो छ यो मन। यो मनले एकैछिनमा बिगत,बर्तमान अनि भबिष्यलाई चिहाउन पुग्छ। बिगतका हरेक पलहरुलाई एक एक गरेर केलाउन नि कतिबेर लगाउदैन । न बादल,बर्ष,झरीले छेक्न सक्छ न त पहाड, पर्वतले रोक्न नै सक्छ । यो मनले कुनै योजना बिना नै कति कुरा सम्झिदिन्छ त कति भुलिदिन्छ । कतिलाई सम्झिरहेको हुन्छ त कतिलाई भुलिसकेको हुन्छ । कतिलाई सम्झिरहु लाग्छ त कतिलाई सम्झिनै चाहदैन यो मन । त्यसैले
यो मन स्वार्थी पनि छ जस्तो लाग्छ । दु:खलाई नसम्झु लाग्छ । सुख र राम्रोलाई मात्रै हरेक पल याद गरुँ लाग्छ । तर जिवनलाई खल्लो बनाउने पनि यहि मन हो,राम्रो भन्दा नराम्रोलाई घरीघरी सम्झिदिन्छ ।सफलता भन्दा असफलताको तितोपनलाई सम्झिदिन्छ । कस्तो अचम्म शरीर थाक्छ तर यो मन कहिले थाक्दैन । चाहे बिरामी हुँदा होस या असहज परिस्थितिमा पनि यो मन रोकिन्दैन। यो गर्ने त्यो गर्ने । यसो गर्दा ठिक,त्यसो गर्दा बेठीक । सबै निर्णय यहि मनले गरिरहेको हुन्छ। भनिन्छ मनबाट गरिएका सबै काम सहि हुन,सत्य हुन। मन लगाएर गरिएको काम सफल पनि हुन्छ । आफुले आफैलाई ढाडस दिने पनि यहि मन त रहेछ। मन सम्बन्धि अनेकौं गीत लेखिएका छ्न । गायक कर्णदासले गाउनु भएको छ, 'मन मनै मन पराई सकेछु..थाहै छैन मनैमा लुकाईसकेछु' त्यसै गरि याम बरालले गाउनु भएकोछ, मन रहे पो माया प्रीति, त्यसै गरि तिमीसंग मिल्ने मेरो मन बाहेक केहि छैन । रामकृष्ण ढकालको आवाजमा मन पराउने हजार भेटिन्छ,जुनि काट्ने एउटै हुन्छ । राजन ईशान गाउछ्न,बसमा छैन मेरो मन । यि गीतहरु सुन्दै गर्दा पनि मन कति महत्त्वपूर्ण हुदोरहेछ भन्ने महशुस गर्न सकिन्छ।
सबैको मन एकैखालको हुदैन । कोहि पापै पापले भरिएको मन लिएर बाँचेका हुन्छ । कोहि अरुको कुभलोमा रमाउने मन लिएर बाँचेका हुन्छ्न । कोहि भने लोभ,लालच,क्रोध,ईर्ष्य आदिले भरिएको मन लिएर बाँचेका हुन्छ्न । मानवीय स्वभाव नै हुन कि रिस,राग,दया,माया,करुणाले भरिएको मन सबैसँग छ । कमैसंग प्रेमभाव,दया करुणाले भरिएको मन हुन्छ। बास्तबमा यो मन स्मरणहरुको महासागर रहेछ। कुनैपल यस्तो पनि हुने रहेछ कि मनमा माया मात्रै हुन्छ। जब मनमा माया हुन्छ तब सारा संसार रमाइलो लाग्ने रहेछ। जिवनको विभिन्न समयमा मनमा माया महशुस गर्ने गरिन्छ। यो मन आकारबिहिन अनि अथाह क्षमताको खानी रहेछ। डुब्दै जाँदा कहाँ पुगिन्छ र कहाँ सम्म पुगिन्छ भन्ने कुनै निश्चिति सिमाना नै छैन । यो मनमा राम्रो सोच खोजे राम्रै पाइने नराम्रो खोजे नराम्रै पाइने रहेछ। अनेकौं सोचहरुको सुरुवात यहि मनबाट हुदोरहेछ । न मनलाई बाँध्न सकिन्छ न त कुनै कुराले थुन्न सकिन्छ । यो त यसै त्यसै कहाँ कहाँ पुगिदिदोरहेछ । कहिले कहि त आफ्नो बसमा पनि हुदैन यो मन। यहि त रहेछ मन ।