मलाई मनपर्छ शिर्षकमा मलाई मनपर्ने कुराहरु लेख्न मन छ । तपाईलाई मनपर्ने नै मलाई पनि मन पर्न सक्छ तर तपाईलाई मनपर्ने सबै मलाई मन नपर्न सक्छ । मलाई मनपर्ने विवरण लामै हुनसक्छ । मलाई मनपर्ने सबै विवरण लेख्न मन छ । सानैबाट म एउटा रहरे खालको बच्चा थिए । सानो हुँदा चित्रकोर्ने,नाच्ने,गाउने अनि विभिन्न किसिमका खेलहरु खेल्न मन पराउथे । मलाई नाच्न र गाउन खासै आउदैन थियो र पनि म नाच्न र गाउनमा खुबै रमाउने गर्दथे । बिद्यालयमा खासै अतिरिक्त कार्यक्रम हुदैनथ्यो । टिफिनको समयमा हामी साथीहरू मिलेर विभिन्न खेलहरु खेल्ने गर्दथ्यो । हरेक दिन हामी विभिन्न किसिमका खेलहरु खेल्ने गर्दथ्यो ।
हामीले खेल्ने खेलहरुमा डन्डिबियो,कब्बडी,दौड,लुकिडुम,पिट्यु,चुङ्गी,चोर पुलिस लगायतका खेलहरु खेल्ने गर्दथ्यो । कहिलेकाही हामी फाइट खेलपनि खेल्ने गर्दथ्यो । म सबै खेल खेल्ने गर्थे तर म खेलकुदमा खासै अब्बल थिइन । सबै खेलहरुमा औसत नै थिए । बिद्यालयमा भने खासै त्यस्तो अतिरिक्त कार्यक्रम हुदैनथ्यो । तिहारमा देउसी भैलो कार्यक्रममा भने नाचगान हुने गर्दथ्यो । लगभग पाँच दिन सम्म देउसी भैलो कार्यक्रम हुने गर्दथ्यो । म पाँचै दिन सम्म देउसी भैलो कार्यक्रममा रमाउथे । देउसी भैलो सकिएको महिना दिनभित्रमा बनभोज कार्यक्रम हुने गर्दथ्यो । बनभोज कार्यक्रम अझ रमाइलो हुने गर्दथ्यो । बनभोज कार्यक्रममा खानपिन मात्रै नभइ विभिन्न सांगीतिक कार्यक्रम हुने गर्दथ्यो । सांगीतिक कार्यक्रममा अन्य छिमेकी टोल र वडाका मान्छेहरू पनि आफ्नो प्रस्तुति सहित सहभागी हुने गर्दथे साथै कार्यक्रम हेर्नकै लागि पनि धेरै मान्छेहरु उपस्थित हुने गर्दथ्यो । खानपान कार्यक्रम पश्चात सांगीतिक कार्यक्रम हुने गर्दथ्यो । बनभोज साच्चै रमाइलो हुने गर्दथ्यो । बाल्यकालका सम्झनाहरुलाई पनि यहाँ लेख्नै उपयुक्त लाग्यो ।
अब अहिलेको अवस्था र मलाई मनपर्ने कुरा गर्दा, मलाई हिजोआज पनि गीतसंगीत मनपर्छ । धेरै भन्दा धेरै नेपाली गीतसंगीत सुन्ने गर्छु । अलिअलि मनका भावनाहरु शब्दहरुमा उतार्न कोशिश गर्छु । मलाई मादल,तबला,हर्मोनियम,गिटार र बसुरी हल्काफुल्का बजाउन आउँछ । मलाई भोयालिन,सारांगी बाजा पनि मन पर्छ । म अलिक भावुक खालको छु । मलाई सानोतिनो कुराले नै छुने गर्दछ । कसैलाई नाई भन्न सक्दिन । मसंग भएको कुनै कुरा लुकाएर राख्नै सक्दिन । कतिबेला,कसरी ती सब कुरा खोलिसकेको हुन्छु । मलाई हल्का खेलकूदमा पनि रुचि छ । मलाई भलिबल,फुटबल,क्रीकेट,पौडी मन पर्छ । भलिबल खेल चै मैले खेल्ने खेल हो भने, फुटबल अलिअलि खेल्छु अनि पौडी पनि आफुलाई पानीबाट बचाउन सक्ने गरि खेल्न सक्छु । मलाई निलो,पहेलो,बैगुनी र सेतो रंग मन पर्छ । मलाई कम्प्युटर सम्बन्धि केही ज्ञान भएको हुनाले कम्प्युटरमा बसेर पनि धेरै समय बिताउन सक्छु । कम्प्युटर संग खेल्न मन लाग्छ । विभिन्न साइटहरु भिजिट गर्न पनि रुचाउछु । मेरो लागि ईन्टरनेट समय सदुपयोग गर्ने उपयुुक्त माध्यम हो भन्दा फरक नपर्ला । किनभने जब म ईन्टरनेटको माध्यमबाट आफुले चाहेको जानकारी लिन थाल्दछु तब म सबै कुरा भुल्ने गर्छु । मेरो लागि कम्प्युटरको स्क्रिन नै एउटा ठुलो संसार भइदिन्छ ।
मलाई साधारण नेपाली खाना नै मनपर्छ । थकाली भान्छ मलाई मनपर्ने खाना हो । रोटि,तरकारी अनि अचार पनि मलाई खुबै मनपर्छ । फलफूलहरुमा केरा,आँप,मेवा,सुन्तला,अनार,भूइकटहर अनि लिच्ची मनपर्छ । मलाई साधारण खालका अनि आफुलाई सजिलो लाग्ने पहिरन मनपर्छ । सर्ट,पेन्ट अनि टाईमा आफुलाई स्मार्ट देखिन्छु जस्तो लाग्छ । मलाई विभिन्न नयाँ नयाँ ठाँउ घुम्न मनपर्छ । मैले नेपालको केही भागहरु घुमेको छु । म जहाँ जहाँ पुगे ती सबै ठाउको आआफ्नै विशेषता पाए । मलाई अझै नेपालको धेरै ठाँउ घुम्न जाने रहर छ । मेरो एउटा बानी के छ भने,जुन ठाँउ मलाई मनपर्छ त्यो ठाँउमा घरीघरी पुगिरहुँ लाग्छ । त्यस मध्यमा भेडेटार मलाई असाध्यै राम्रो अनि मनपर्छ । म प्रायः यो ठाँउ पुगिरहेको हुन्छु । मलाई मनपर्ने कुराहरु यी नै हुन । यसमा केही अझै छुटेका छ्न । ती अर्को पेजमा लेखौला ।