म समयको पछिपछि कुदिरहेको छु । समय मलाई छोडेर अघिअघि कुदिरहेको छ । म समयलाई भेट्न हतार गर्छु तर समय मलाई छोडेर जान हतार गर्छ । मेरा प्रत्येक पाइलाले समयलाई थिच्न खोज्छु तर समय मेरो पाइतला भन्दा एक कदम अघि छ त्यसैले म समयलाई आफ्नो पाइतलाले थिच्न कहिल्यै सक्दिन । मैले मेरो एक पाइला मात्रै ढिलो चलाए भने समयले मलाई दुई पाइला छोडेर जानेछ । अनि बिस्तारै कहिल्यै भेट्ने नै छुइन । यो सत्य हो समयलाई इन्द्रेको बाउ चन्द्रेले पनि समाएर राख्न सक्दैन ।
मेरो सपनाको संसारमा पुग्नलाई म हतारमा छु । अरु कसैको बारेमा चियो चर्चा गर्न मलाई एकछिन पनि फुर्सद छैन, । किनकी म मेरो सपनालाई अरुको सपना भन्दा महान ठन्दछु । मेरो लक्ष्य,उद्देश्य जे भनु ती सबै मेरा हुन । मलाई अरु कसैको जस्तो पनि बन्नु छैन । मेरो हरेक पाइलाहरु भोलिको निम्ति लम्किरहेका छ्न । म चाहन्छु कि यसरी अघि बढिरहदा मैले कसैको चित्त दुखाउन नपरोस । कसैलाई कुल्चेर पनि हिड्न नपरोस । मेरा सपना र समय अब एक अर्कामा परिपुरक बनेको छ । अलिकति मात्रै मैले समयलाई हेल्चक्र्याई गरे भने मेरो सर्बस्व डामाडोल हुनेछ । म चाहन्छु कि मेरा सपनाहरू चाडै पूरा होउन् । मलाई थाहा छ र अहिले महशुस गरिरहेको छु,सपनाको संसारमा पुग्न साच्चिकै कठिन छ । अनेकौ बाध बिध्नहरुको सामना गर्न गाह्रो छ । कहिलेकाही ती सपनाहरूलाई थाती नै राखिदिउ जस्तो लाग्छ । फेरि त्यही बेला क्षितिजमा आशाका धर्सोहरु देख्छु अनि पुनः यात्रालाई निरन्तरता दिन्छु ।
कतिपय सपनाहरूको मृत्यु पनि हुदोरहेछ । समय परिस्थितिले ती सपनाहरू कहिल्यै उठ्न नसक्ने गरि थिचिने रहेछन । ती मृत सपनाहरू घरीघरी मनमा आएर झस्काउने गर्दछ्न । आखिर ती सपनाहरू पनि त अर्थपूर्ण नै थिए कुनै समयमा र नै त यसरी कहिलेकाही फुर्सदमा सताएको होला ।