जब म सानो थिए, म धेरै नै लजालु स्वभावको थिए । म किन त्यति सार्है लजाउथे मलाई थाहा छैन तर अहिले सम्झिनदा लाग्छ कि त्यो परिवेश अनि साथीसंगीको संगत पनि त्यस्तै खालको थियो त्यसैले नै म लजाउने गर्थे । मान्छेको आनी बानी, स्वभाव पनि अजिब अजिबका हुन्छ्न । कोहि बिरालो देखि डराउने,कोहि मान्छेसंगै डराउने,कोहि कसैसंग नबोल्ने,कोहि घर देखि बाहिर निस्कनै नचाहने त कोहि घरभन्दा बाहिर नै रमाउने । त्यसतै गरि म चै लजालु स्वभावको थिए । म आफुभन्दा ठुलोसंग डरले बोल्न सक्दिन थिए भने केटि मान्छेहरुसंग त दस कोस परै हुन रुचाउथे । यो बानीले मलाई आई.ए. पढ्दा सम्म छोडेन ।
मान्छेको चालचलन,स्वभाव परिवर्तन हुन उ बसेको परिवेशले पनि निकै महत्त्वपूर्ण भुमिका खेल्ने रहेछ । ब्यक्तिको परिवर्तन हुन उक्त ब्यक्तिको संगत,सम्पर्क र उमेरले पनि बिशेष महत्त्व राख्ने रहेछ । मेरो लागि यी चिजहरुले केहि मात्रामा असर पर्यो । जब म बि.ए. पढ्न थाले र सानो भए पनि काम थाले त्यसपछी भने बिस्तारै मेरो संगत विभिन्न ब्यक्तिहरुसंग हुन थाल्यो । मेरो सम्पर्कमा अनेक खालका ब्यक्तिहरु आउन थाले । ती ब्यक्ति महिला,पुरुष जो पनि हुन्थे । अब भने ती ब्यक्तिसंग नबोली नहुने भयो । बिस्तारै सोचाइहरु पनि परिवर्तन हुन थाल्यो । चिनजान,बोलचालको महत्त्व पनि महशुस हुन थाल्यो । त्यसपछि भने मेरो नबोल्ने,लजालु स्वभाव बदलियो । पछि थाहा भयो कि बोल्न खासै गाह्रो र अफ्ठ्यारो नहुने रहेछ । पहिला पहिला म के बिषयमा बोल्ने होला ?कसरी बोल्ने होला? के पो सोच्छ कि भनेर बोल्दिन थिए । बोल्नलाई लाज पनि लाग्थ्यो तर बोल्नलाई आफै विभिन्न बिषयहरु आउने रहेछ। लजाउनु पर्ने,अफ्ठ्यारो मान्नु पर्ने कुनै कारण नै छैन रैछ । हिजोआज जब म बोल्न थाल्छु,तब अर्को ब्यक्ति भन्दा मै धेरै बोल्छु जस्तो लाग्छ ।
कतिपय भेटघाटमा नबोली बसिरहदा पनि खासै फरक पर्दैन तर हिजोआज म नबोली, आफ्नो मनको खुल्दुली व्यक्त नगरी बस्नै सक्दिन । अनि सम्झन्छु ती बाल्यकाल, लजाउदै नबोलेको त्यो क्षणहरु । बास्तबमा जब आफ्ना बिचार व्यक्त हुन्छ तब मात्रै आफू खुलेको महशुस हुने रहेछ । अझै पनि देख्छु कति साथीहरू खासै नबोल्ने,बोल्दा लजाउने,धकाउनेहरु । ती साथीहरूलाई देख्दा मै चुप छु । म आफू नै बन्द छु जस्तो महशुस गर्छु । अनि म ती साथीहरूलाई बोल्न प्रेरित गर्छु ।