एकाइसौं शताब्दीका भाग्यमानी मानव जाति हामी, प्रबिधि र बिकासको चरम उत्कर्षमा छौ । यस शताब्दीका उपलब्धि भनेकै प्रबिधि र बिकास हुन । हामी क्षणभरमै संसारको कुनै कुनामा,ठाउँमा पुग्न सक्छौ । हामी क्षणभरमै एक ठाउँको खबर अर्को ठाउँमा थाहा पाउन सक्छौ । यी सब प्रबिधि र बिकासका परिणामहरु हुन । हुनत हाम्रो देश त्यो हदमा पुगिसकेको छैन तर केही हद सम्म हाम्रा पनि गतिविधिहरुलाई ती प्रबिधि र बिकासले प्रभाव पारिसकेको छ। दैनिक जीवनयापन गर्न आवश्यक संसाधन पर्याप्त भएपनि जिन्दगी बेफुर्सदी छ । तिनै संसाधनको जोहो गर्दागर्दै जिन्दगी बितिदिन्छ । जब जिन्दगीको अन्तिम अवस्था महशुस गर्न थाल्नेछौ तब झस्किनेछौ कि अब त मेरो समय सकियो । यो गर्नु थियो,त्यो गर्नु थियो । खै के नै पो गरिएछ त्यस्तो? हरेक दिनको त्यो ब्यस्तताको उपलब्धि खै के? इच्छा,चाहना,सपनाहरू सबै अधुरै रहे ।
मलाई लाग्छ, मेरो मात्रै होइन तपाईको पनि मेरै जस्तो अस्तब्यस्त छ दैनिकी । कति धेरै समयलाई ब्यवस्थापन गर्दा गर्दै पनि समयले पुगिरहेको हुदैन । बिहान उठेदेखि राती सुत्नेबेला सम्म पनि ब्यस्त हुन्छौ । एकछिन आरामले बस्न पाइएको हुदैन । केही न केही कामको चापले गर्दा एकछिन फुर्सद मिल्दैन । इच्छा,आकांक्षा सपनाहरू अनेकौं छ्न । हामीलाई थाहा छ सबै इच्छा,आकांक्षा अनि सपनाहरू पूरा हुदैनन् र पनि हामी त्यसकै पछि दौडिरहेका हुन्छौ । बेफुर्सदी यस्तो छ कि पढ्नै पर्ने पुस्तकहरू थाँती छ्न । कहिले पढुँ? बर्षौ भैसक्यो गुम्सिएर बसेका मनका भावनहरु । शब्दमा उतारौला कुनै पत्रपत्रिकामा छपाउला भन्ने सोच छ तर फुर्सद नै मिलेको छैन । कहिले लेखुँ ? कहिले छापु? नयाँ नयाँ ठाँउहरुमा घुम्न जाने मन छ । कतिपय पुग्नै पर्ने ठाँउहरुमा पुग्ने सोच कहिल्यै साकार भएन । ती ठाँउहरुमा पुगेर रमाउन मन छ । कहिले पुगुँ ती ठाँउहरुमा? कति साथीहरुलाई भेट्न मन छ । के गर्दै छन?कस्तो अवस्थामा छ्न होला? कहिले मिल्ला त्यो फुर्सदको समय अनि भेटुँ? सधैको ब्यस्तता अनि बेफुर्सदी । यसरी नै त बितिरहेको छ बेफुर्सदी जिन्दगी ।
जीवनका कतिपय समय त भौतारिएरै बिते । परिस्थितिहरु आफू अनुकूल नभैदिदाँ कति असहज जिन्दगी बाँचियो । अहिलेसम्म जीवनमा कति सुख अनि दु:ख आए गए कुनै लेखाजोखा छैन । जीवनका उराठ लाग्दा ती दिनहरुमा कसरी सम्हालिएर हिडियो त्यसको पनि कुनै हिसाब छैन । आफ्नो भागमा सुख अनि खुशीहरु सदैब कम्ती परे जस्तो लाग्छ । बेफुर्सदमा पनि हिसाबमा आउने त तिनै दु:ख,पीडा,असहजताहरु नै त रहेछ्न। हिजोआज सोच्ने गर्दछु,मेरो जिन्दगीमा बेहिसाब मिलेका ती हासो,खुशी,सुखहरु कति आए कति गए होलान । कुनै लेखाजोखा राखिन । अब भने ती जम्मैको लेखाजोखा राख्नेछु । बेफुर्सद नै किन नहोस अब ति इच्छा,चाहना,सपनाहरुकै निम्ति बाँच्नेछु ।