जीवनका दुई पाटा अँध्यारो,उज्यालो । सुख,दु:ख । आँसु,हाँसो । मिलन, बिछोड । सफलता, असफलता । उकाली,ओराली । जन्म अनि मृत्यु शाश्वत जस्तै लाग्छन । कसैको जीवन एकनासको छैन,एकनासले चल्दैन पनि । जब म जीवनलाई नजिकबाट नियाल्छु,यिनै दुई पाटा भेट्ने गर्छु । मैले जस्तै तपाईले पनि त जिन्दगीलाई नियाल्नु भएको होला । यस्तै यस्तै नै त होला तपाईको पनि जिन्दगी । तपाईले पनि यस्तै यस्तै नै त पाउनु हुन्छ होला तपाईको जिन्दगीमा ।
कोहि जिन्दगीलाई एउटा अवसरको रुपमा स्वीकार गर्दछ्न भने कोहि चुनौतीको रुपमा । कसैलाई दुखै दु:खको भुमरी होला जिन्दगी भने कसैलाई सुखै सुखको महासागर । सबैको नजरमा जिन्दगी एकैखालको छैन । जसले जस्तो भोग्यो, जस्तो भोग्दैछ उस्तै हो उसको जिन्दगी । जिन्दगी जिउने क्रममा अनेकन समस्याहरु आउने गर्दछ्न तर ती समस्याहरु समाधान पनि साथैमा लिएर आउने गर्दछ्न । फरक यति मात्र छ कि कसैले सजिलै समाधान गर्दछ्न भने कसलाई गाह्रो लाग्दछ । बुझ्नु पर्ने कुरा हरेक समस्याको समाधान छ । हुनत कहिलेकाही मन आतिन्छ । हतास हुन्छ । समस्याका पर्खालहरु नाघ्नै नसकिएला जस्तो लाग्छ । दु:ख,पीडा अनि असफलता मात्रै आफ्नो भागमा परे जस्तो लाग्छ । कति असहज बन्छ जीवन । जसको कुनै लेखाजोखा नहोला तर जीवन जिउनुको अर्थ यिनै समस्या,दु:ख,पीडा अनि असफलताहरुमा छ्न । सजिलो,सुखै सुखको समयमा त जो पनि सजिलै जिउन सक्छ तर यस्तो अवस्थामा गुज्रिरहेको बेला नै आफ्नो क्षमताको पनि मापन हुने गर्दछ । जब हामी यी असहज भुमरीबाट मुक्त हुन्छौ अनि सफलता,सहजता सुखको अनुभूति गर्दछौ अनि लाग्छ जिन्दगी दुखै दु:ख पनि होइन रहेछ । उकाली पछि बिसौने चौतारी पनि मिल्दो रहेछ। महान ब्यक्तिहरुको जीवनी पढ्दा थाहा हुन्छ कि सफलता,लक्ष्य,गन्तव्य पुग्नलाई के के सम्म गर्नु पर्दछ । त्याग, तपस्या,मेहनतका कुराहरु संगसंगै समयको महत्त्वलाई महशुस गर्न सक्छौ । बास्तबमा हामी जसलाई सफल ब्यक्तिको रुपमा देखेका छौ,बुझेको छौ अनि चिनेका छौ ती ब्यक्तिहरु महान हुन । जसलाई पढेर,सुनेर आउने पुस्तालाई समेत प्रेरणा मिल्दछ ।
जिन्दगीमा सबैको आआफ्नै खालका सपनाहरु छ्न । कतिका सपना सपनामै सिमित रहन्छ्न । कतिका पूरा पनि हुन्छन । आफ्नो क्षमता,सामर्थ्य अनुकूलका हाम्रा सपनाहरु पूरा हुनेनै छन । सपना पूरा गर्न साहस गरे आवश्य पूरा हुनेछ । आफ्नो क्षमता,सामर्थ्य भन्दा पराका सपना पूरा गर्नलाई भने साहसले मात्र पुग्दैन दुस्साहस नै गर्नु पर्ने हुन्छ ।