लेख्नलाई अनेकौं बिषयबस्तुहरु छ्न । समसामयिक बिषयका लेखहरु त झन एकदमै प्रभावकारी पनि हुन्छ्न । तर पनि मलाई भने उहीँ एउटै शिर्षक जिन्दगीको बारेमै लेख्न, पढ्न मन लाग्छ । यहि बिषयमा लेखिरहुँ,पढिरहुँ जस्तो लाग्छ । बास्तबमा म आफुले आफैलाई पढ्न चाहन्छु । त्यसैले सायद बिषयबस्तुको गहनता,प्रभावकारिता यहि बिषयमा पाउँदछु । अहिलेसम्मको मेरो बुझाइ र अनुभवले यो बताउदछ कि आफुले आफैलाई पढ्न नसक्नु,आफू को हो?अन्तरमनले बोलेका बोली नसुन्नु नै आम मानिसको कमजोरी हो । म आफुलाई पढेर यिनै कुरा जान्न,बुझ्न चाहन्छु । प्रायः हामी अरुको जिन्दगी खोताल खाताल गर्छौ, अरुको आङ्को भैंसी देख्ने हामी आफ्नै आङ्को जूम्रा देख्दैनौ । यहि कारणले हाम्रो जिन्दगी,जिन्दगी जस्तै छैन। जिन्दगीका भोगाई,अनुभवहरु सरल भाषामा लेख्ने लेखकहरुको लेख मेरो पहिलो रोजाइमा पर्ने गर्दछ।
जिन्दगीको बारेमा धेरैले धेरै लेखिसकेका छ्न । अझै लेखिने क्रम जारी छ । भोगाई,अनुभवहरु ब्यक्ति पिच्छे फरक फरक हुन्छ्न । त्यसैले पनि सबैलाई लाग्दछ कि मेरो जिन्दगी अरुको भन्दा फरक छ । मान्छे देब र दानवको समिश्रण हो भनेर भन्ने गरिन्छ । त्यसैले मानवमा ती गुणहरु कहि कतै देखिने गर्दछ । कसैमा देवत्व धेरै,दानवत्व कम, कसैमा दानवत्व धेरै त देउवत्व कम । यहि भएर पनि मान्छेले मान्छेलाई चिन्न सक्दैन । हिजोआज म यिनै कुराहरूमा घोत्लिरहेको छु अनि आफुमा भएको देवत्व गुण र दानवत्वको गुणको मात्रालाई विश्लेषण गर्ने कोशिस गरिरहेको छु । जब सम्म आफुले आफैलाई चिन्न सकिन्न तब सम्म अरुले भनिदिएको भरमा म को हुँ बुझ्न सकिन्न । म चाहन्छु आफ्नो जिन्दगी आफै पढु ।
जिन्दगीलाई सरल या कठिन बनाउने जिम्मा हाम्रै हातमा छ। आफैसंग छ जिन्दगीलाई कुदाउने असली चाबी । जिन्दगी रुपी गाडीको स्टेरिङ,ब्रेक,गियार,क्लोज हामी आफैसंग छ त्यै पनि हामीलाई थाहै हुदैन कति बेला ब्रेक लगाउने,गियार चेन्ज गर्ने दायाँबायाँ कता मोडिनु पर्ने । हामी अरुको गति हेर्छौ अनि कुद्न खोज्छौ । आफ्नो कन्डिसनको हेक्का राख्दैनौ । समय सापेक्ष चल्न नसक्नु पनि हाम्रो कमजोरी नै हो । जीवनलाई रिदमिक नबनाई सम्म यसको मज्जा लिन सकिन्न । एकबारको जिन्दगीमा हामी आफुले आफैलाई नबुझी महान बन्न खोज्छौ। आफुले आफैलाई जित्न नसकेपनि अरुलाई जित्न हरप्रहार कोसिस गरिरहन्छौ । आफैप्रति बिश्वास नभए पनि अरुलाई बिश्वास दिलाउने प्रयास गर्छौ । भोलिको मिठो कल्पनामा आजका खुशी,सुखलाई तिलन्जली दिन पछि पर्दैनौ । के त्यो भोलि आउँछ होला ! के त्यो सुखै सुख अनि खुशी नै खुशीले भरिएको दिन आउँछ होला ! कदपी आउने छैन । कसले देखेको छ त्यो भोलि? भोलि त जे पनि हुन सक्छ । त्यसैले आफुले आफैलाई बिश्वास गर्नुहोस,आजको दिनलाई सिंगार्नुस,रमाउनुस । खुशी भन्ने कुरा बाहिरी संसारमा छैन त्यसैले खोज्नुस आफै भित्र । हरेक दिनलाई आफ्नो दिन बनाउनुस । यसैमा छ जिन्दगी जिउनुको मज्जा । मान्छे बिगतलाई भुलेर बर्तमनमा रमाउदछ,अनि भबिस्य सम्झेर चिन्ता गर्छ । आजैबाट चिन्ता गर्न छोडिदिनुस । खुलेर जिउनुस । जिन्दगी एकनासको पनि छैन, यो गतिशील छ । अझ यसलाई गतिशील बनाउनुहोस ।